रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका, रासायनिक हतियार प्रयोग गरेको आरोप

काठमाडौं । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ ।

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । तर रुसले भने आक्रमणमा संलग्नताको कडा रुपमा अस्वीकार गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक तथा जैविक हतियारको प्रयोग गरेकाले उसमाथि प्रतिबन्ध लगाइने बताए ।

उनले यो प्रतिबन्ध यही अगस्ट २२ देखि लागू हुने जानकारी दिए । यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ ।

गत मार्च ४ मा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी बेलायतको सेलिस्वरी सिटी सेन्टरमा बेहोस अवस्थामा फेला परेका थिए ।

यो घटनाले बेलायत र रुसबीचको सम्बन्ध बिग्रिएको थियो ।

यो घटनामा रुसको संलग्नता रहेको भन्दै बेलायत र उसका सहयोगी २२ भन्दा बढी देशले त्यहाँ रहेका रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका थिए ।

अमेरिकाले पनि ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्