मानव तस्करीलाई नेपालले गम्भिर रुपमा लिएको छः गृहमन्त्री थापा
काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मानवतस्करी, बेचविखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भिर रुपमा लिएको बताएका छन् ।
इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्वोधन गर्दै गृहमन्त्री थापाले ठुलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको बताएका हुन् ।
उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र वेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे । गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराधको सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । ्उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे ।
आज सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन् । सन २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।
नेपालसहित चीन, भारत, अष्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम,युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन् ।
गृहमन्त्रालयको चारसदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आईतबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्