अफगानिस्तानमा आत्मघाती हमला, ३५ को मृत्यु, ७० घाइते

काठमाडौं । अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

गार्डेजमा रहेको मस्जिदमा शुक्रबार लगातार भएका दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा अरु ७० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जिदमा प्रार्थना भइरहेका बेला घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनामा परी आक्रमणकारीतर्फका दुईजना पनि मारिएका छन् ।

प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताएका छन् ।

घटनामा घाइते भएकामध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

विभागीय प्रमुख अहमाड्जीकाअनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने सम्भावना छ ।

घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् ।

विस्फोटबाट मस्जिदमा पनि क्षति पुगेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

घटनाकाबारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको बताइएको छ ।

अफगानिस्तानमा भएका यस्ता आक्रमणहरुमा विगतमा इस्लामिक स्टेट (आइएस) लडाकूहरुको संलग्नता पाइने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्