जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित, नतिजा अस्वीकार गर्दै विपक्षी पार्टी

१८ साउन, काठमाडौं । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वाचित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई अत्यत झिनो मत अन्तरले हराउँदै मनांगाग्वा निर्वाचित भएका हुन् ।

कमाण्ड एकपटक फेरि एमर्सन मनांगाग्वाको हातमा आएको छ । १० प्रान्तको परिणाम जारी गर्दै चुनाव आयोगले भनेको छ मनांगाग्वाले ५० दशमलव ८ प्रतिशत भोट हासिल गरेका छन् । यसैगरी विपक्षी उम्मेदवार नेलसन चमिसाले ४४ दशमलव ३ प्रतिशत मत प्राप्त गरेका थिए ।

मूभमेन्ट फर डेमोक्रेटिक चेन्ज गठबन्धनको प्रमुख मोर्गन कोमिचीले भने यस नतिजालाई फर्जी बताउँदै अस्वीकार गरेका छन् । जिम्बाब्बे चुनाव आयोगले भने निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।

पछिल्ला दिनमा अत्यन्तै अलोकप्रिय रहेका ९४ वर्षिय तत्कालीन राष्ट्रपति रोबर्ट मुगाबेले नोवेम्बरमा पदबाट राजीनामा दिएपछि जिम्बाब्बेमा पहिलोपटक निर्वाचन भएको थियो । मुगाबेलाई पदबाट हटाएर तत्कालीन उपराष्ट्रपति मनांगाग्वा राष्ट्रपति बनेका थिए । जीवनको उत्राद्र्ध तिर पुगेका बृद्ध नेता पदबाट हट्नु परेको हुँदा रुष्ट मुगाबेले आफ्नै पार्टी जानु पीएफका उम्मेदवार मनांगाग्वालाई चुनावमा नसघाई विपक्षी उम्मेदवार चमिसालाई समर्थन गरेका थिए ।
निर्वाचनको क्रममा राजधानी हरारेमा फैलिएको दंगा निर्वाचन परिणामपछि शान्त भएको छ । निर्वाचनको क्रममा भड्किएको हिंसामा थुप्रैको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्