लाओसमा बाँध फुटेर बेपत्ता ६ जनाको शव फेला, १ सय २५ जना अझै सम्पर्क बाहिर

काठमाडौं । लाओसमा बाँध भत्किएर बगाएकामध्ये ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्।

अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अहिलेसम्म पनि १ सय २५ जनाको अवस्थाका बारेमा केही थाहा हुन सकेको छैन।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको र अरु कतिपयलाई उद्धार गरी अस्थायी शिविरमा व्यवस्थापन गरिएको जनाइएको छ।

देशको दक्षिणी क्षेत्रमा रहेको जलविद्युत परियोजनाको बाँध भत्किएर बगाएका वा बेपत्ता भएकामध्ये अधिकांशको मृत्यु भएको हुनसक्ने स्थानीय सञ्चार माध्यमहरूले बताएका छन्।

कम्बोडियाको सिमा क्षेत्रमा पर्ने लाओसको दक्षिणी क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको छेपिन छे नाम नोय जलविद्युत परियोजनाको बाँध सोमबार बेलुका भत्किएको थियो।

बाँध भत्किएपछि सानाम्याक्सी जिल्लाका सात गाँउ प्रभावित भएका र सयौं विस्थापित भएका अधिकारीहरूले बताएका छन्।

लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले विस्थापित भएकाहरूलाई सुरक्षित वासस्थानमा व्यवस्थापनको काम भइरहेको जानकारी दिए।

घटनाबाट पिडितहरूलाई उद्धार तथा राहतका लागि सरकारी अधिकारीहरूलाई अधिकतम परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्