डाक्टर केसी र सरकारबीच भएको सहमतिको कांग्रेसद्वारा स्वागत , वार्ताँ भाँड्ने प्रयत्न गरेको आरोपमा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र नेपाल सरकारबीच भएको सहमतिको स्वागत गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले सहमतिको स्वागत गर्दै सहमतिको इमान्दार कार्यान्वयनले मुलुकको चिकित्सा शिक्षा सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको हो ।

सहमति कार्यान्वयन हुने विश्वासका साथ संघीय संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमाथिको विरोधको सूचना पनि फिर्ता लिएको काग्रेसले जनाएको छ । तर कांग्रेसले वार्ता भाँड्ने प्रत्यत्न गरेको भन्ने नेकपाका नेताको अभिव्यक्तिप्रति भने आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका असफल निर्णयको दोष कांग्रेसलाई थोपर्ने काम गरिएको भन्दै दुख व्यक्त गर्नुभयो ।

कांग्रेसले आफ्ना एजेण्डा नभएर डाक्टर केसीले उठाएका विषयलाई एजेण्डा बनायो भनेर टिप्पणी गर्नुको औचित्य नभएको भन्दै उहाँले लोकतान्त्रिक चरित्र देखाउन सरकारलाई सचेत गराउनुभयो ।

प्रवक्ता शर्माले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको रुपमा सरकारका राम्रा कामलाई खुल्ला रुपमा सघाउनुको साथै गलत काम भएमा त्यस्ता काम रोक्नका लागि दबाब दिने बताउनुभयो ।

कांग्रेसले सभामुख र उपसभामुख भिन्न दलको हुनुपर्ने, निषेधाज्ञा, मूल्यवृद्धि लगायत विषयमा सरकारलाई खबरदारी गर्न आउँदो मंगलबार सबै जिल्ला सदरमुकाममा गर्न लागिएको विरोध प्रर्दशनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्