क्यालिफोर्नियामा डढेलो लाग्यो, तीन हजार स्थानीय बासिन्दालाई घर छोड्न आग्रह

अमेरिका। क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै दू्रत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका छन् ।

जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त बनाएको छ । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सर्न आग्रह गरेका छन् ।

सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप दू्रत बनेको आपतकालीन सूचनामा जनाइएको छ ।

आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ । यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ । त्यहाँबाट २,००० घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ ।

आगो फैलिन नदिन उद्धारकर्मीले काम गरिरहेका छन् । तर पनि उच्च तापक्रमका कारण यो काम त्यति प्रभावकारी बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्