शताव्दीकै लामो चन्द्र ग्रहण आज, हेर्न नभुल्नुस्

काठमाडौं ११ श्रावण । २१औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ ।
यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न सकिन्छ ।
पूर्ण चन्द्र ग्रहणको सुरु नेपाली समय अनुसार रातको २ बजेर ९ मिनेटमाबाट हुनेछ भने, शनिबार बिहान ४ बजेर ४ मिनेट जाँदा अन्त्य ।

नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छ । जस अनुसार ग्रहणलार्ई अशुभ भन्ने गरिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।
तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यस अवधिलाई चन्द्र ग्रहण भनिन्छ ।

यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ ।

साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ ।

ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ ।

हिन्दु धर्ममा ग्रहणलाई लिएर धेरै प्रकारका पौराणिक मान्यताहरु छन् । ग्रहणलाई अशुभ र नकारात्मक शक्ति सक्रिय हुने समय मानिन्छ । अनि यो समयमा शुभकर्म पनि बर्जित मानिन्छ । ज्योतिषहरुले ग्रहण लागेको बेला धेरै शारीरिक र मानसिक कार्य नगर्न सल्लाह दिन्छन् । सनातनी परम्परामा देवदर्शन र यज्ञ लगायतका धार्मिक कार्य गरिँदैन । यस्तो अवस्थामा भजनकीर्तन गर्न सल्लाह दिइन्छ । साथै सूतकको समयमा भोजन गर्न र पानी पिउन समेत नहुने बताइन्छ ।

ग्रहण लाग्नुभन्दा अगाडि खाने र पिउने कुराहरुमा तुलसीका केही पातहरु राख्ने चलन छ । साथै ग्रहणपछि भाँडाहरुमा राखिएको पानी बदल्नुपर्ने मान्यता छ । तर तामाका भाँडामा राखिएको पानीमा कुश वा तुलसीको पात राखेमा ग्रहणको प्रभाव नपर्ने धार्मिक विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्