ग्रीसमा भिषण आगलागी , ६० जनाको ज्यान गयो, १ सय ५० भन्दा धेरै घाइते

काठमाडौं । ग्रीसको एथेन्स शहर नजिकैको अट्टिका क्षेत्रको जंगलमा लागेको आगोले ठूलो क्षति निम्त्याएको छ ।
आगलागीबाट ६० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरुले बताएका छन् । आगलागीबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीले बताएका छन् ।
आगोले मटी नाम गरेको गाउँ पूरै ध्वस्त गरेको बीबीसीले जनाएको छ । समुन्द्र नजिकै रहेको त्यस ठाउँमा उद्धारकर्मीहरुले २६ जनाको शव भेटाएका छन् ।
उद्धारकर्ताहरुले एक अर्कालाई अंकमाल गर्दै गरेका शवहरु भेटिएको जनाइएको छ । हजारौं अग्नी नियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । अधिकारीहरुले अन्तर्रा्ष्ट्रिय सहयोग खोजिरहेको बताइएको छ ।
अधिकारीहरुका अनुसार १ सय ५० भन्दा धेरै जना घाइते भएका छन् । आगलागीले भौतिक संरचना, यातायात र घरहरु नष्ट बनाएको छ । आगो निभाउने प्रयास भइरहे पनि निभाउन अझै समस्या भएको बताइएको छ ।
आगो के कारणले लाग्यो भन्ने अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्