बार्सिलोनाको फराकिलो जित

एजेन्सी । गए राति स्पेनिश कोपा डेल रेमा बार्सिलोनाले रियल मर्सियालाई ५—० ले हराएको छ । यस जितसँगै बार्सिलोना प्रतियोगिताको अन्तिम १६ मा पनि प्रवेश गरेको छ ।

बार्सिलोनाका लागि पाको अल्कासेरले १६ औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र गरेको घरेलु टोलीले दोस्रो हाफमा भने चार गोल गर्‍यो ।

प्रतिबन्धबाट फर्केका जेरार्ड पिकेले ५६ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए भने त्यसको पाँच मिनेटमै अलेक्स भिडालले स्कोर ३—० पारे । त्यस्तै ७४ औं मिनेटमा डेनिस स्वारेजले टोलीको चौथो गोल थपे ।

खेलको ७९ औं मिनेटमा युवा खेलाडि जोसे आर्नियाजले गोल गर्दै जित सुनिश्चित गरेका थिए । पहिलो लेग ३—० जितेको बार्सिलोना यसरी एग्रिगेटमा ८—० ले विजयी रह्यो । अब बार्सिलोनाले घरेलु लिगमा शनिबार सेल्टा भिगोको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्