सरुवा भएर जाने कर्मचारीको तलब वितरण अब स्थानीय तहबाटै

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक दिने भएको छ।

स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

‘सरुवा गरिएका कर्मचारीको पारिश्रमिकको हकमा यो आर्थिक वर्षदेखि कर्मचारी जहाँ सरुवा भएका छन् त्यहीँ नै पठाउनेछौँ।’, उनले भने, ‘पारिश्रमिक पठाउँदा अनिवार्य कर्मचारी जाने भएकाले कर्मचारीलाई स्थानीय तहमा पठाउन सजिलो होस् भन्नका लागि पनि पारिश्रमिक पठाउन थालेका हौँ।’

यसअघि केन्द्रका कर्मचारी सरुवा भए पनि पहिल्यैको कार्यालयबाट पारिश्रमिक बुझ्ने भएकाले स्थानीय तहमा नजाने गरेको पाइएको उनको भनाइ छ।

मुलुक संघीय संरचनामा गइसकेपछि स्थानीय तहमा अपुग भएका कर्मचारीलाई केन्द्रबाट पठाउँदै आइएको छ। स्थानीय तहमा करीब ५७ हजार कर्मचारी रहनेछन्।

प्रतिक्रिया दिनुहोस्