करिब १८ हजार ५०० कर्मचारी टर्की सरकारद्धारा बर्खास्त

टर्कीको सरकारले करिब १८ हजार ५०० कर्मचारीलाई बर्खास्त गरेको समाचार छ ।
सरकारले सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेतलाइ बर्खास्त गरिएको छ ।

सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सरकारले आइतबार आकस्मिक रुपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ ।

बर्खास्त प्रहरीमा अधिकृति स्तरका कर्मचारी धेरै रहेका छन् । आतङ्ककारी समूह या संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो ।

बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि रहेका छन् । ती सैनिकमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसरी सरकारी आदेश अनुसार बर्खास्त हुनेमा १ हजार ५२ जना निजामति कर्मचारी अधिकृत त्यस्तै २०० जना प्राध्यापक र शिक्षक तथा विश्वविद्यालय र विद्यालयका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा सन् २०१६ को जुलाई महिनामा सैनिक विद्रोह भएको थियो तर असफल प्रयास भएको थियो । त्यसपछि राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका प्रहरी, सेना, गैरसैनिक कर्मचारी विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने किसिमको कारबाही गरेका थिए ।

अहिले २ वर्षसम्म आइपूग्दा सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ र अहिले पनि यहाँ सङ्कटकालीन अवस्था नै छ । यो सङ्कटकालीन अवस्थाको अन्त्य भने यही जुलाई १९ मा हुनेछ ।

त्यसैले सङ्कटकालीन अवस्थाको अन्त्य हुनुभन्दा अगाडिनै सरकारले यति ठूलो सङ्ख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेर फाइदा उठाएको समाचार निस्कीएको छ । तर राष्ट्रपति एर्दोगानले यसको फाइदा उठाएर आफ्नो बिरोधिको अन्त्य गर्ने अभियान चलाएको भन्दै उनको ब्यापक आलोचना तथा विरोध भएको छ ।
एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्