ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ, ३१ भदौ। वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२३ मा ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका(१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलिप चौधरी रहेका छन् ।

ना ३ ख ५६१० नम्बरको ट्रकले ना ४३ प ५१२२ नम्बरको मोटरसाइकललाई मंगलबार राति साढे ८ बजेको समयमा ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरू गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

सर्बिसलेनबाट एक्सप्रेस(वेमा प्रवेश गरिरहेको समयमा जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको उक्त मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्