सुनील शर्माद्वारा तीजको दिन चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुँदै
काठमाडौं, ३० भदौ। गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएर आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका–३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा गरेका छन्।
स्नातक अध्ययनरत माझी आर्थिक अवस्था कमजोर भएकै कारण साथीहरूले सहयोग जुटाएर १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिइन्। त्यहाँ उपचारलाई निरन्तरता दिन कठिन भएपछि माझीकी साथी दामु शेर्पाले नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवाललाई जानकारी गराएकी थिइन्। कटुवालले माझीको उपचारका लागि सहयोग मागेपछि शर्माले तीजको दिन उनलाई त्रिविबाट आफ्नो अस्पतालमा ल्याई निःशुल्क उपचारको जिम्मा लिने घोषणा गरेका हुन्।
शर्माले माझी अस्पताल भर्ना भएदेखि उपचार पूरा भएर स्वस्थ भई घर फर्किंदासम्मको सम्पूर्ण उपचार निःशुल्क गर्ने बताएका छन्। प्रत्यारोपणका लागि आउने मिर्गौला दाता र बिरामीका एक जना कुरुवालाई अस्पतालमा रहँदासम्म दिनको चार छाक खाना पनि निःशुल्क उपलब्ध गराउने उनको घोषणा छ। शर्माकै पहलमा पठाइएको एम्बुलेन्सबाट माझीलाई त्रिवि शिक्षण अस्पतालबाट केएमसी ल्याइएको हो।
माझी केएमसी आइपुग्दा अस्पताल सञ्चालक शर्मा आफैं चिकित्सकको टोलीसहित आकस्मिक कक्षमा उपचारको तयारीका लागि उपस्थित थिए। केएमसीका चिकित्सक डा. सुरेश महर्जनका अनुसार माझीको मिर्गौलामा गम्भीर समस्या देखिएको छ र डायलासिस सुरु भइसकेको छ। उनको फोक्सोमा क्षयरोग (टीबी) समेत देखिएकाले त्यसको उपचार पनि सुरु गरिनेछ। स्वास्थ्य अवस्था अनुकूल बनाएर सकेसम्म छिटो मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढाइने ट्रान्सप्लान्ट सर्जन डा. विजयमानसिंह कटुवालले बताए।
माझीको उपचारका लागि औषधि तथा औषधिजन्य सामग्रीको खर्च भने सामाजिक पहलबाट जुटाइने विद्यार्थी नेतृ कटुवालले बताइन्। निजी अस्पतालमा उपचार गराउँदा राज्यले निःशुल्क उपलब्ध गराउने भनिएका औषधिसमेत बिरामीले पाउन नसक्ने अवस्था रहेको भन्दै आर्थिक रूपमा कमजोर बिरामीका लागि सहयोग जुटाउनुपर्ने बाध्यता रहेको उनले बताइन्। ‘तीजको दिन चेलीको उद्धार गर्न पाउँदा आफूलाई गर्व लागेको छ,’ कटुवालले भनिन्।
शर्माले स्वास्थ्य बिमा कार्यक्रमको रकम १० लाख रुपैयाँ पुर्याउन सके यस्ता समस्या धेरै हदसम्म स्वतः समाधान हुने बताए। डा. गोविन्द केसीको आन्दोलनपछि स्वास्थ्य क्षेत्रमा धेरै नराम्रा काम भइरहेको उनको भनाइ छ। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यले स्वास्थ्य बिमामा पर्याप्त लगानी गर्नुपर्ने उनको सुझाव छ।
केएमसीमा हालसम्म गरिएका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन्। माझीका बुबाले छोरीको उपचारको जिम्मेवारी लिएकोमा डा. सुनील शर्मा, करुणा कटुवाल र छोरीकी साथी दामु शेर्पालाई धन्यवाद दिएका छन्।
भोटेकोशी बाढीमा सबै गुमाएका पीडितका लागि केएमसीले यसअघि पनि निःशुल्क उपचार, औषधि र स्वास्थ्य सेवा दिँदै आएको छ। बाढीका कारण आर्थिक अवस्था गुमाएका बिरामीको उपचारसँगै मिर्गौला प्रत्यारोपण आवश्यक पर्ने पीडितलाई समेत निःशुल्क सेवा दिने क्रमलाई शर्माले निरन्तरता दिएका हुन्।
यसअघि बाढीमा सबै गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको पनि केएमसी सिनामंगलमा निःशुल्क मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भइसकेको छ। डंगोलका श्रीमान् राजकुमार डंगोल हुन्। बाढीमा आर्थिक अवस्था गुमाएपछि उनको उपचार र प्रत्यारोपण खर्च जुटाउन समस्या भएको थियो।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हालेपछि शर्माले हालै केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका थिए। स्वास्थ्य र शिक्षाका क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आएका शर्माले नयाँ जिम्मेवारीसँगै सामाजिक सेवाको दायरा अझ विस्तार गर्ने बताएका छन्।





प्रतिक्रिया दिनुहोस्