एटीएममा छिरेर मुसाले काटे लाखौँ रुपैयाँ

भारत । भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएम बिग्रेपछि जाँच गर्न प्राविधिकहरू खटाइए । उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे । किनभने भारु १२ लाखभन्दा बढी मूल्यका नोटहरू काटिएको अवस्थामा भेटिए ।

तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको सो एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको शङ्का गरिएको छ ।

हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ । मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन्।

त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ । एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उक्त एटीएमले १२ दिनदेखि काम नगरेको बताएको छ ।

प्राविधिकहरूले झन्डै १७ लाख भारतीय रुपैयाँ भने सकुशल निकालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्