बाढी प्रभावितलाई एलपी ग्यास व्यवसायीले साढे १२ सय सिलिन्डर उपलब्ध गराउने

भदौ, १४ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।
संघ अध्यक्ष दिवानबहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको उनले बताए ।

संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ ।

१० भदौ बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति संघले दुस्ख व्यक्त गरेको छ ।

यस कठिन परिस्थितिमा सबै निकाय मानवीय कार्यमा जुटिरहेको उल्लेख गर्दै संघले आफ्ना तर्फबाट पनि सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत सामग्री प्रदान गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्