कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली पक्राउ
ओरेगन । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन् ।
मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ । त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य–अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
सो संस्थाले इनोभेसन ल ल्याब नामक अकोृ संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ ।
एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ ।
उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने अवस्था छ ।
चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो ।
त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन् ।
उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए ।
एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन्।
आप्रवासीहरूको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासीहरू जोखिममा रहेको बीबीसीलाई बताइन्।
ूउनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन। कतिपयलाई चोटपटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन्। तर उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौँ।ू
ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ।
प्रतिक्रिया दिनुहोस्