सहकारी संस्थाको आवश्यक नियमन नहुँदा सहकारीमा बचत दुरुपयोग भएकामा चिन्ता व्यक्त
काठमाडौँ, ३१ साउन। सहकारी संस्थाको आवश्यक नियमन नहुँदा सहकारीमा बचत दुरुपयोग भएकामा चिन्ता व्यक्त गरिएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३९ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले सहकारी संस्थाको उचित नियमन गर्नुपर्नेमा जोड दिनुभएको हो।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले सम्बन्धित संस्थाको नाफा नोक्सानी तथा लेखा परीक्षणको अवस्था सबै सदस्यलाई सुसूचित गर्नुपर्ने बताउनुभयो।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, बचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण तथा लेखापरीक्षकको भूमिकाका बारेमा प्रष्ट कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो।
सहकारी प्रवर्धन महाशाखाका प्रतिनिधि डिलाराम पन्थी, सहकारी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि रजिष्ट्रार बाबुराम गौतम, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका प्रतिनिधि राम कुमार महतोलगायतले सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या समाधानका लागि सहकारी संस्थाका शेयर सदस्य तथा पदाधिकारी संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘सशक्त साकोस ः उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ दिवस सातै प्रदेशमा विविध कार्यक्रम सहित मनाइएको जानकारी दिनुभयो।
नेफ्स्कूनले साकोस अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापक तथा कर्मचारी, उत्कृष्ट साकोस तथा संघसंस्थालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको
छ ।
एक अर्ब ४० करोड शेयर पूँजी रहेको नेफ्स्कूनले साढे १४ अर्ब वचत तथा पाँच अर्ब कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्