बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग
काठमाडौं, २२ साउन । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ५६ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। ‘जय नेपाल इन्टरनेसनल फाउन्डेसन’ नर्थ क्यारोलिना राज्य समिति (युएसए) को आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ४२ जना दलित विद्यार्थीहरूलाई स्टेशनरी र विद्यालयलाई आवश्यक शैक्षिक एवं खेलकुद सामग्री हस्तान्तरण गरिएको हो।
कुल विद्यार्थी संख्याको ९५ प्रतिशत दलित समुदायका बालबालिका अध्ययनरत रहेको यस विद्यालयका बालबालिकाहरूको पठनपाठनमा प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो। फाउन्डेसनका कार्यसमिति सदस्यहरू तथा अन्य सामाजिक व्यक्तित्वहरूबाट मौलिक रूपमा आर्थिक सहयोग संकलन गरी सामग्री खरिद गरिएको आयोजकले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसन्ती लाबडको अध्यक्षतामा सम्पन्न सामग्री वितरण कार्यक्रममा जय नेपाल इन्टरनेसनल फाउन्डेसन नर्थ क्यारोलिनाका प्रतिनिधि बासुदेव भट्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्राध्यापक मानबहादुर चन्द तथा पूर्व गाउँ विकास समिति (गाविस) अध्यक्ष उत्तरबहादुर चन्दको उपस्थिति रहेको थियो।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक टेकबहादुर ऐरीले विकट क्षेत्रका दलित तथा विपन्न वर्गका बालबालिकाको शिक्षाका लागि प्रवासमा रहेर पनि सहयोग हात बढाएकोमा फाउन्डेसनप्रति धन्यवाद ज्ञापन गरे। प्रमुख अतिथि भट्टले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्यका लागि यस्ता रचनात्मक र सहयोगी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।












प्रतिक्रिया दिनुहोस्