भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन
काठमाडौं, २० साउन । भारतीय चर्चित अभिनेता प्रदीप रावतको निधन भएको छ।
ब्लड क्यान्सर ९रक्त क्यान्सर० पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए।
अभिनेता यशपाल शर्माले पनि रावतको निधनको जानकारी इन्स्टाग्राममार्फत सार्वजनिक गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली फिल्म उद्योगमा समेत काम गरेका थिए। उनले चर्चित टेलिभिजन श्रृंखला महाभारतमा अश्वत्थामाको भूमिका निर्वाह गरेर प्रारम्भिक चर्चा कमाएका थिए।
पछि उनले लगान, गजिनी, सरफरोश, राउडी राठौर लगायत धेरै फिल्ममा शक्तिशाली खलनायकको भूमिकामा अभिनय गर्दै विशेष पहिचान बनाएका थिए।
प्रदीपले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ र ‘आबाट आमा’ का दुवै शृंखलामा अभिनय गरेका थिए।
आबाट आमा-२ दशैंमा प्रदर्शन तयारीमा छ।
प्रदीपको निधनपछि उनीसँग सहकार्य गरेका नेपाली अभिनेत्री विपना थापा, नीता ढुंगाना लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्। उहाको निधनले भारतमात्रै होइन नेपाली चलचित्र क्षेत्र पनि स्तब्ध भएको छ ।












प्रतिक्रिया दिनुहोस्