अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन सार्वजनिक
काठमाडौं, १५ साउन।सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समिति र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको संयुक्त पहलमा ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा मार्गदर्शन पुस्तकको सार्वजनिक गरिएको हो।
कार्यक्रममा सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिका संयोजक न्यायाधीश हरिप्रसाद फुयालले अदालती पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र प्रभावकारी बनाउन मार्गदर्शन तयार गरिएको बताए।
उनले अदालतलाई समाचार क्षेत्रका रूपमा समेट्ने पत्रकार तथा अदालतसम्बन्धी विषयमा लेख्ने सबैका लागि यो पुस्तक उपयोगी मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे।
न्यायाधीश फुयालले सूचना प्रविधिको विकाससँगै सर्वोच्च अदालत सूचना प्रवाहमा थप पारदर्शी बन्दै गएको पनि बताए।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले पत्रकार तथा सञ्चारमाध्यमले अदालती अवहेलनालगायत विषयमा भोग्दै आएका चुनौतीबारे धारणा राखेका थिए।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष भाषा शर्माले स्वागत मन्तव्य राखेका थिए भने महासचिव निराजन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।
लिलाधर उपाध्याय र राकेश बमद्वारा लेखिएको तथा सम्पादन गरिएको उक्त पुस्तक अदालती पत्रकारिताका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्