वीरगञ्जमा पुनः निषेधाज्ञा, शनिबार बिहान ६ बजेसम्म लागू

काठमाडौं, १५ साउन। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ।

प्रशासनले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ।

जारी आदेशअनुसार वीरगञ्ज महानगरपालिकाको प्रतिमा चोक, बसपार्क बाइपास सडक, तिलावे पुल, गण्डक चोक र शङ्कराचार्य गेटभित्रको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य समूहगत गतिविधि गर्न निषेध गरिएको छ।

सुनसरी घटनापछि वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

यसअघि पनि जिल्ला प्रशासन कार्यालयले बिहीबार रातिको समयमा निषेधाज्ञा लागू गरेको थियो।

प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्न सबै पक्षसँग सहयोगको अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्