सुकुमबासी बस्ती हटाइएका बालबालिकाको शिक्षामा असर पर्न नदिने सरकारको प्रतिबद्धता

काठमाडौं, १५ साउन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुमबासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै असर पर्न नदिने बताएका छन्।

शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीको पठनपाठन निरन्तरता दिन विभिन्न विद्यालयमा स्थानान्तरण गरी अध्ययनको व्यवस्था गरिएको जानकारी दिए।

उनका अनुसार बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा श्री बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोलमा स्थानान्तरण गरिएको छ।

त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका १० जना बालबालिकालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन काठमाडौं महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।

मन्त्रीका अनुसार खरिपाटी, बोडे र इचङ्गु होल्डिङ सेन्टरमा रहेका ५९ जना बालबालिकालाई उनीहरूले रोजेका विद्यालयमा भर्ना गरिएको छ। उनीहरूका लागि विद्यालय आउजाउ गर्न सवारी सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी, पानीको बोतल, सरसफाइका सामग्री तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराइएको छ।

उनले गत असार २९ गते खरिपाटी र बोडे होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित बालबालिकाका लागि आवश्यक थप व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए।

विश्वविद्यालयमा नियुक्ति प्रक्रिया अघि बढ्यो

अर्को प्रश्नको जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालय तथा शैक्षिक संस्थामा भएका मनोनयन सुशासन र योग्यताका आधारमा सुधार गर्न पुनरावलोकन गरिएको बताए।

उनका अनुसार हाल नौ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भइसकेका छन्। साथै, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षसहित अन्य उच्च पदाधिकारी पनि नियुक्त भइसकेका छन् भने बाँकी रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाइएको छ।

मन्त्री पोखरेलले उच्च शिक्षाको शैक्षिक वातावरण सुधार गर्न सबै विश्वविद्यालयलाई वार्षिक शैक्षिक क्यालेन्डर तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको पनि जानकारी दिए।

राष्ट्रियसभाको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा) र भुवनबहादुर सुनारले शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्