पूर्वी तराईको तनावले यातायात सेवा प्रभावित, व्यवसायीले राहत प्याकेज मागे

काठमाडौं, १५ साउन। कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाका कारण सार्वजनिक यातायात सेवा प्रभावित भएको छ। सुनसरीको कप्तानगञ्जबाट सुरु भएको विवाद सिरहा, धनुषालगायत जिल्लामा फैलिँदा कर्फ्यु, निषेधाज्ञा र प्रदर्शनका कारण सवारीसाधन सञ्चालनमा अवरोध पुगेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सुरक्षा अवस्थाका कारण पूर्वी तराईका अधिकांश क्षेत्रमा यातायात सेवा ठप्पजस्तै बनेको बताए।

उनका अनुसार सिरहा, धनुषालगायत जिल्लामा कर्फ्यु लागेकाले सवारीसाधन सञ्चालन हुन सकेको छैन। पूर्वबाट सञ्चालन हुने कोशी राजमार्ग, झापा क्षेत्र तथा मदन भण्डारी राजमार्गका केही खण्डमा पनि सुरक्षा सतर्कताका कारण सीमित रूपमा मात्र सवारी चलेका छन्।

बैंकको किस्ता तिर्न दबाब

यातायात सेवा बन्द हुँदा व्यवसायीहरू आर्थिक रूपमा ठूलो समस्यामा परेको महासंघले जनाएको छ।

अध्यक्ष सिटौलाले सवारी नचले पनि बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता र ब्याज नियमित रूपमा तिर्नुपर्ने बाध्यताले व्यवसायी थप मारमा परेको बताए।

उनका अनुसार लामो समयसम्म यातायात सेवा प्रभावित हुँदा व्यवसायीको आम्दानी बन्द भएको छ भने सञ्चालन खर्च र बैंकको दायित्व यथावत् रहेको छ।

चालक र मजदुरको दैनिकी प्रभावित

यातायात सेवा अवरुद्ध हुँदा चालक, सहचालक तथा दैनिक ज्यालादारीमा काम गर्ने हजारौँ मजदुरको जीविकोपार्जनसमेत प्रभावित भएको महासंघको भनाइ छ।

कतिपय स्थानमा सवारीसाधन, टिकट काउन्टर तथा अन्य संरचनामा तोडफोड र आगजनीका घटना भएपछि मजदुरहरू त्रसित बनेका छन्।

महासंघका अनुसार दैनिक आम्दानीमा निर्भर रहने श्रमिक कामविहीन हुँदा उनीहरूको परिवारसमेत समस्यामा परेको छ।

सरकारसँग राहतको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग यातायात क्षेत्रका लागि विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको छ।

महासंघले बैंक ऋणको किस्ता तिर्ने समयसीमा पुनर्निर्धारण, ब्याजमा सहुलियत, यातायात क्षेत्रको सुरक्षाको प्रत्याभूति तथा प्रभावित व्यवसायीको क्षतिको सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

महासंघले तनावग्रस्त क्षेत्रमा शान्ति सुरक्षा कायम गरी जनजीवन र यातायात सेवा यथाशीघ्र सामान्य बनाउन राज्यले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्