गोरखाको चक्रपथ सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान
काठमाडौं, १५ साउन। गोरखा सडक आयोजनाले जिल्लास्थित आरुघाट–धारपानी–सिसनेरी–सातदोबाटो–भुवाने–तुरुङ–आलेचे–फूलपातीडाँडा–आरुघाट (चक्रपथ) सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरेको छ।
आयोजनाले शुक्रबार सूचना जारी गर्दै योग्य निर्माण व्यवसायीहरूबाट विद्युतीय बोलपत्र (ई–बोलपत्र) पेस गर्न आह्वान गरेको हो।
गोरखा सडक आयोजनाले राष्ट्रिय प्रतिस्पर्धी बोलपत्रमार्फत एकल चरण दुई खामे प्रक्रिया (सिंगल स्टेज टु एनभेलप) बाट निर्माण कम्पनी छनोट गर्न लागेको जनाएको छ।
आयोजनाका अनुसार ठेक्का प्रक्रियामा सहभागी हुन इच्छुक निर्माण व्यवसायीले तोकिएको न्यूनतम योग्यता पूरा गर्नुपर्नेछ।
निर्माण व्यवसायीको विगत १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा ६ करोड ५० लाख रुपैयाँ हुनुपर्नेछ। त्यस्तै, विगत १० वर्षभित्र कम्तीमा एउटा समान प्रकृतिको सडक निर्माण कार्य १ करोड ७३ लाख रुपैयाँ बराबरको सम्पन्न गरेको अनुभवसमेत आवश्यक पर्ने सूचनामा उल्लेख छ।
आयोजनाले तोकिएको मापदण्ड पूरा गर्ने योग्य निर्माण कम्पनीलाई निर्धारित समयभित्र ई–बोलपत्र पेस गर्न आग्रह गरेको छ।
चक्रपथ सडक स्तरोन्नति भएपछि गोरखाका विभिन्न ग्रामीण क्षेत्रको यातायात पहुँच सुधार हुने तथा स्थानीयस्तरको आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया दिनुहोस्