निर्मल पुर्जा सहितका आरोहीको खोजीका लागि नेपालबाट टोली पाकिस्तान जाँदै

काठमाडौं, १५ साउन।  पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चर्चित नेपाली आरोही निर्मल पुर्जा (निम्स) सहितका आरोहीहरुको खोजी तथा उद्धारका लागि नेपालबाट टोली पाकिस्तान जाने भएको छ।

निर्मल पुर्जाका साथी तथा रास्वपाका सांसद मिङ्मा डेभिड शेर्पासहित तीन जनाको टोली आजै कतार हुँदै पाकिस्तान प्रस्थान गर्ने भएको हो। शेर्पा पुर्जाको कम्पनी ‘इलाइट एक्सपिडिसन’का साझेदार समेत हुन्।

शेर्पाका अनुसार टोलीमा उच्च हिमाली क्षेत्रमा उडानको अनुभव भएका पाइलट पनि सहभागी हुनेछन्। उनले ब्रोड पिक क्षेत्रमा उद्धारका लागि आवश्यक समन्वय भइरहेको जानकारी दिए।

यसैबीच बेलायतबाट पनि निर्मल पुर्जा सहितका आरोहीको खोजी तथा उद्धारका लागि केही व्यक्तिहरु पाकिस्तानतर्फ प्रस्थान गरेका छन्।

शेर्पाका अनुसार माउन्ट के टूको शिखर क्षेत्रमा रहेको इलाइट एक्सपिडिसनको टोलीले समेत आफ्नो आरोहण योजना स्थगित गरेर ब्रोड पिकतर्फ लागेको छ।

उनले उद्धारका लागि हेलिकप्टर ब्रोड पिक क्षेत्रमा पुगेको भए पनि अहिलेसम्म फर्किन नसकेको बताए। उनका अनुसार हाल उक्त क्षेत्रमा मौसम अनुकूल रहेको छ।

“मौसम राम्रो भएकै कारण आरोहणको योजना बनाइएको हो,” शेर्पाले भने।

उनले सकारात्मक खबरको प्रतीक्षा भइरहेको बताएका छन्। शेर्पाका अनुसार स्याटलाइट डेटामा अझै पनि निर्मल पुर्जाको गतिविधि देखिएको छ।

“स्याटलाइट डेटामा अझै पनि निर्मल पुर्जाको मुभमेन्ट देखिएको छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्