सिद्धबाबा सुरुङमार्गको निर्माण ७० प्रतिशत पूरा, सञ्चालनको प्रतीक्षामा लुम्बिनीवासी

काठमाडौं, १४ साउन । काठमाडौँको नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशका नागरिकको ध्यान सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गतर्फ केन्द्रित भएको छ। बुटवल–पाल्पा सडकखण्डको जोखिमपूर्ण सिद्धबाबा क्षेत्रलाई सुरक्षित र सहज बनाउन निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि यात्राको जोखिम घट्ने अपेक्षा गरिएको छ।

सिद्धबाबा क्षेत्र वर्षायाममा पहिरो जाने र ढुङ्गा खस्ने उच्च जोखिमका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। यसका कारण यात्रु तथा सवारी चालकले लामो समयदेखि कठिनाइ भोग्दै आएका छन्। सुरुङमार्ग सञ्चालनमा आएपछि बुटवल हुँदै पाल्पा र गण्डकी प्रदेश जोड्ने प्रमुख सडकखण्ड सुरक्षित, छिटो र भरपर्दो बन्ने विश्वास गरिएको छ।

सिद्धबाबा सुरुङमार्गको २०८१ माघ १० गते ‘ब्रेकथ्रु’ सम्पन्न भएको थियो। त्यसयता सुरुङभित्रका संरचना निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ। आयोजनाका अनुसार हालसम्म भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार ब्रेकथ्रुपछि सुरुङभित्र भुइँ ढलान, भित्ताको लाइनिङ, कल्भर्ट निर्माणलगायतका काम तीव्र गतिमा भइरहेका छन्। दुवैतर्फको नाली निर्माण, इन्भर्ट तथा तीनवटै बाइपास निर्माणको काम पनि सँगसँगै अघि बढिरहेको उनले जानकारी दिए।

परियोजनाकी इन्जिनियर निशा बेल्वासे सापकोटाका अनुसार सुरुङ सञ्चालनका लागि आवश्यक दुईवटा नियन्त्रण कक्ष निर्माणको काम करिब आधा सम्पन्न भएको छ। बुटवलतर्फ आयोजना कार्यालय भवन निर्माणको काम पनि जारी रहेको उनले बताइन्।

सुरुङभित्र हुने गतिविधिको निगरानी नियन्त्रण कक्षबाट कम्प्युटर प्रणालीमार्फत गरिनेछ। दुर्घटना, प्रदूषणको अवस्था, ध्वनिको मात्रा, हावाको बहावलगायतका विवरण नियन्त्रण कक्षमा प्राप्त हुने व्यवस्था मिलाइएको छ।

हाल सुरुङभित्र अग्नि नियन्त्रण प्रणाली, विद्युत् तथा यान्त्रिक प्रणाली, हावाको आवतजावत व्यवस्थापन, लाइनिङलगायतका काम भइरहेका छन्। आयोजनाले मुख्य सडक निर्माणको काम कात्तिक अन्तिमसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। त्यसपछि बाहिरी ढलान संरक्षणसहित बाँकी संरचनागत काम अघि बढाइनेछ।

सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा पाएको हो। सम्झौताअनुसार आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल आयोजनास्थलमा दैनिक २०० भन्दा बढी कामदार परिचालन भइरहेका छन्।

उपकरण आयातमा ढिलाइ, कूटनीतिक पहल सुरु

सुरुङमार्गका लागि आवश्यक केही उपकरण चीनबाट ल्याउने क्रममा केरुङ नाकामा रोकिएका छन्। भन्सार प्रक्रिया लामो हुँदा उपकरण आयातमा ढिलाइ भएपछि नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल सुरु गरेको छ।

ठेक्का लिएको चिनियाँ कम्पनीले सुरुङभित्र आवश्यक सुरक्षा प्रणाली, विद्युतीय तार जडान, हावाको व्यवस्थापन प्रणाली तथा अग्नि नियन्त्रण प्रणालीका उपकरण चीनबाट ल्याइरहेको छ। केही उपकरण आयोजनास्थलमा पुगे पनि आवश्यक अन्य सामग्री केरुङ नाकामै रोकिएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख बास्तोलाका अनुसार उपकरण छिटो भित्र्याउन परराष्ट्र मन्त्रालयमार्फत पहल भइरहेको छ। उनले निर्माण सम्पन्न भएपछि पनि ठेकेदार कम्पनीले पाँच वर्षसम्म सुरुङको मर्मत तथा सञ्चालन सहयोग गर्ने व्यवस्था सम्झौतामा रहेको जानकारी दिए।

बाहिरी क्षेत्रमा पहिरो नियन्त्रणका संरचना बनाइने

सुरुङ निर्माणपछि दोभानतर्फको बाहिरी क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने जोखिम घटाउन विशेष संरचना निर्माण गरिने भएको छ।

आयोजनाले करिब ४० मिटर उचाइसम्म ढुङ्गा रोक्ने संरचना निर्माण गर्ने तथा माथिबाट खस्ने ढुङ्गाको गति कम गर्न रकनेट जडान गर्ने योजना बनाएको छ।

इन्जिनियर सापकोटाका अनुसार सुरुङभित्रको मुख्य निर्माण कार्यलाई प्राथमिकता दिइएपछि बाहिरी सुरक्षा संरचना निर्माणको काम अघि बढाइनेछ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र वर्षौंदेखि जोखिमपूर्ण सडकखण्डका रूपमा चिनिँदै आएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि यस क्षेत्रको यात्रा सुरक्षित, सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्