सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सकारात्मक, आजै सहमतिको प्रयास

काठमाडौं, १३ असार । आन्दोलनरत चिकित्सक र सरकारबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा जारी वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ। दुवै पक्षले आजै सहमति गर्ने प्रयास भइरहेको जनाएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ५४ वर्षीय राजकुमार पटेलको मृत्युपछि अस्पतालमा भएको तोडफोड र चिकित्सकमाथि कुटपिटको घटनापछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।

नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडीले मन्त्रालयसँग भइरहेको छलफल सकारात्मक रहेको र आज साँझसम्म सहमति जुट्ने आशा व्यक्त गरे।

चिकित्सक संघले आन्दोलनका क्रममा पाँच प्रमुख माग अघि सारेको छ। संघले चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, घटनामा जोडिएका प्रहरी उपरीक्षकको सरुवा गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनका केही व्यवस्था संशोधन गर्न तथा हाल उद्योग मन्त्रालयअन्तर्गत रहेको उपभोक्ता अदालतलाई स्वास्थ्य मन्त्रालयअन्तर्गत ल्याउन माग गरेको छ।

संघका अनुसार आक्रमणमा संलग्न तीन जना पक्राउ परेको र सम्बन्धित प्रहरी उपरीक्षकको सरुवा भएको मौखिक जानकारी प्राप्त भए पनि त्यसको औपचारिक पुष्टि हुन बाँकी छ।

स्वास्थ्य मन्त्रालयमा जारी वार्तामा मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी र कोषाध्यक्ष डा. संयुक्त आचार्य सहभागी छन्।

महासचिव डा. दवाडीले आन्दोलन लामो समयसम्म जारी रहँदा बिरामीहरू प्रभावित हुने भएकाले सरकारले माग सम्बोधन गरे तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकहरू तयार रहेको बताए।

उनले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐनका केही व्यवस्था परिमार्जन गर्नुपर्ने र उपभोक्ता अदालतलाई स्वास्थ्य क्षेत्रसँग सम्बद्ध निकायअन्तर्गत ल्याउनुपर्ने मागमा सरकारसँग छलफल भइरहेको जानकारी दिए।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि चिकित्सक संघका मागका आधारमा वार्ता जारी रहेको र सहमतिका लागि प्रयास भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्