स्कुले किशोरकिशोरीमा लागुऔषधको जोखिम बढ्दो, पाँचमध्ये एक जोखिममा रहेको अध्ययनको निष्कर्ष

काठमाडौं, १३ असार । विद्यालय तथा कलेज तहका किशोरकिशोरीमा लागुऔषध प्रयोगको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ। भारतमा गरिएको एक सर्वेक्षणले पाँचमध्ये एक किशोरकिशोरी लागुऔषध प्रयोगको मध्यमदेखि उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो।

सन् २०२५–२०२६ मा गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘द ल्यान्सेट रिजनल हेल्थ–साउथइस्ट एसिया’ मा प्रकाशित भएको छ। अध्ययनमा किशोरकिशोरीहरू लागुऔषध प्रयोगको सबैभन्दा उच्च जोखिम समूहमा रहेको उल्लेख गरिएको छ।

भारतका विभिन्न जिल्लाका १०८ सरकारी तथा निजी विद्यालयका ६ हजार १६८ जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा विश्व स्वास्थ्य संगठनको परीक्षण विधि प्रयोग गरिएको अनुसन्धानकर्ताले बताएका छन्।

सर्वेक्षणमा धुम्रपान, मदिरा तथा अन्य लागुऔषध प्रयोगको अवस्थाबारे अध्ययन गरिएको थियो। प्रतिवेदनअनुसार २१ दशमलव ४ प्रतिशत किशोरकिशोरी लागुऔषध प्रयोगको मध्यम वा उच्च जोखिममा रहेका छन्।

जसमध्ये १० दशमलव ३ प्रतिशत किशोरकिशोरी मध्यम जोखिममा र ११ दशमलव १ प्रतिशत उच्च जोखिममा रहेको पाइएको छ।

सर्वेक्षणमा उत्तर प्रदेशको गोरखपुर, असमको कामरूप, महाराष्ट्रको नागपुर, झारखण्डको देवघर, गुजरातको राजकोट र पुडुचेरीका सरकारी तथा निजी विद्यालयहरू समेटिएका थिए।

अध्ययनका अनुसार गुवाहाटी र देवघरका विद्यालयमा उच्च जोखिममा रहेका किशोरकिशोरीको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ भने नागपुर र पुडुचेरीमा जोखिमको अनुपात कम रहेको पाइएको छ।

डिजिटल प्रयोग र सहज उपलब्धता मुख्य कारण

अध्ययनले किशोरकिशोरीलाई लागुऔषध प्रयोगतर्फ धकेल्ने प्रमुख कारणमध्ये डिजिटल पहुँचलाई महत्वपूर्ण कारकका रूपमा औंल्याएको छ।

अनुसन्धानकर्ताका अनुसार इन्टरनेट र प्रविधिको अत्यधिक प्रयोगले खराब संगत तथा जोखिमपूर्ण व्यवहारतर्फ आकर्षित गर्ने सम्भावना बढाउन सक्छ।

त्यस्तै लागुऔषधको सहज उपलब्धता र त्यसप्रतिको किशोरकिशोरीको सकारात्मक धारणा पनि जोखिम बढाउने प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ।

विद्यालयको वातावरण, सामाजिक तथा आर्थिक अवस्था र व्यक्तिगत स्वभावले समेत किशोरकिशोरीलाई लागुऔषध प्रयोगतर्फ आकर्षित गर्न भूमिका खेल्ने अध्ययनले देखाएको छ।

रोकथामका लागि बहुस्तरीय प्रयास आवश्यक

अध्ययनकर्ताले लागुऔषध प्रयोग नियन्त्रणका लागि समुदायमा आधारित कार्यक्रम, विद्यालयस्तरीय सचेतना अभियान तथा साथीहरूको नेतृत्वमा हुने हस्तक्षेप कार्यक्रम प्रभावकारी हुन सक्ने सुझाव दिएका छन्।

किशोरकिशोरीलाई सुरक्षित वातावरण, सही मार्गदर्शन र समयमै परामर्श उपलब्ध गराउन सके लागुऔषध प्रयोगको जोखिम घटाउन सकिने अध्ययनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्