टेलिकमका टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, १३ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा बुधबार आयोजित अन्तर–निकाय छलफलमा मन्त्री तिमिल्सिनाले सम्भव भएसम्म नेपाल टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन्।

छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका अधिकारीहरूको सहभागिता थियो।

बैठकमा नेपाल टेलिकमका आधारभूत प्रसारण केन्द्र (बिटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा पर्याप्त र भरपर्दो विद्युत् आपूर्ति नहुँदा विभिन्न क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवामा समस्या देखिएको विषयमा समीक्षा गरिएको थियो।

मन्त्री तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै समस्या पहिचानमा मात्र सीमित नभई परिणाममुखी काम गर्न निर्देशन दिए।

उनले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच पुर्‍याउन नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच स्थायी समन्वय प्रणाली विकास गर्न कार्यसमूह गठन गरी स्पष्ट कार्ययोजनासहित अघि बढ्न आग्रह गरे।

“विगतमा अन्तर–निकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन्। अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुहोस्। मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ,” मन्त्री तिमिल्सिनाले भने।

उनले सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय प्रतिबद्ध रहेको बताए।

मन्त्री तिमिल्सिनाले विद्युत् पहुँच नपुगेका टेलिकम टावरहरूको स्पष्ट तथ्याङ्क नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराउन र त्यसका आधारमा प्राथमिकताका साथ विद्युत् विस्तार योजना बनाउन नेपाल टेलिकमलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्