नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, ललित राजवंशी प्लेइङ–११ मा
काठमाडौं, १३ असार । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङबाट सुरुवात गर्ने भएको हो। खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। सोमपाल कामीको स्थानमा ललित राजवंशीलाई प्लेइङ–११ मा समावेश गरिएको छ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन्।
सिरिजको सुरुवाती तीन खेलमा नेपालले जित निकाल्न सकेको छैन। नेपालले नामिबियासँग भएका दुवै खेल र नेदरल्यान्ड्ससँगको पहिलो खेलमा पराजय भोगेको थियो।
हाल नेपाल आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा छैटौं स्थानमा रहेको छ। नेपालले ३१ खेलबाट २४ अंक जोडेको छ। नेपाललाई पछि पार्दै पाँचौं स्थानमा पुगेको नामिबियाको २६ अंक रहेको छ।
एकदिवसीय विश्वकप छनोटमा पुग्न महत्वपूर्ण मानिएको यस सिरिजमा कमजोर प्रदर्शन गरेसँगै नेपालको सिधै छनोट हुने सम्भावना कमजोर बनेको छ। अन्तिम खेलमा जित निकाल्दै नेपाल अंक तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ।













प्रतिक्रिया दिनुहोस्