अमेरिकामा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध, चीनसँगको प्रविधि प्रतिस्पर्धा थप चर्कियो
काठमाडौं, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा ह्युमनोइड रोबोटको नयाँ आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रशासनले यस्ता उन्नत रोबोटले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने दाबी गरेको छ।
प्रतिबन्ध उन्नत प्रविधिमा आधारित रोबोटहरूमा लागू हुने जनाइएको छ। यसमा मानिसजस्तै देखिने ह्युमनोइड रोबोट तथा चार खुट्टा भएका क्वाड्रपेड रोबोट समेत समावेश छन्। यस्ता रोबोटमध्ये ठूलो हिस्सा चीनमा उत्पादन हुने गरेको बताइएको छ।
रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा विश्व नेतृत्वका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चलिरहेका बेला अमेरिकी प्रशासनको पछिल्लो निर्णय आएको हो।
यसैबीच अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले पावर इन्भर्टरको आयातमा समेत प्रतिबन्ध लगाएको छ। डाटा सेन्टर र सौर्य प्यानलमा प्रयोग हुने यस्ता उपकरणले अमेरिकी अर्थतन्त्र र महत्वपूर्ण पूर्वाधारमा जोखिम निम्त्याउन सक्ने एफसीसीको भनाइ छ।
एफसीसी अध्यक्ष ब्रेन्डन कारले एजेन्सीले अमेरिकाको महत्वपूर्ण आपूर्ति शृंखलाको सुरक्षा गर्ने जिम्मेवारी पूरा गरिरहेको बताएका छन्।
एफसीसीले ह्युमनोइड रोबोट र पावर इन्भर्टरलाई आफ्नो ‘कभर गरिएको सूची’ मा समावेश गरेको छ। उक्त सूचीमा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि सम्भावित खतरा मानिएका वस्तु तथा सेवाहरू राखिने गरिन्छ।
अमेरिकी निर्णयबारे चीनले भने अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।













प्रतिक्रिया दिनुहोस्