होर्मुज समुद्रीमार्गमा इरानलाई शुल्क तिर्ने जहाजको बीमा रद्द गरिने
काठमाडौं, १३ असार । लोयड मार्केट एसोसिएसनले होर्मुज समुद्रीमार्ग प्रयोग गर्दा इरानलाई ट्रान्जिट शुल्क वा अन्य कुनै प्रकारको भुक्तानी गर्ने जहाजको बीमा कभरेज रद्द गर्न सकिने नयाँ व्यवस्था सार्वजनिक गरेको छ।
जुलाईको अन्तिमतिर जारी गरिएको नयाँ सर्तअनुसार होर्मुज समुद्रीमार्ग पार गर्न इरानी अधिकारीलाई शुल्क, टोल वा अन्य समान प्रकृतिको भुक्तानी गरेमा सम्बन्धित जहाजको बीमा कभर स्वतः समाप्त हुनेछ। समुद्री हल अन्डरराइटरलाई यस्तो अवस्थामा बीमा कभरेज रद्द गर्ने अधिकार प्रदान गरिएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार यो व्यवस्था अमेरिका, बेलायत तथा युरोपेली संघका प्रतिबन्ध तथा आतंकवादसम्बन्धी कानुन उल्लंघन हुन सक्ने जोखिमलाई ध्यानमा राखेर ल्याइएको हो। कुनै पनि प्रकारको आर्थिक भुक्तानी वा गैरआर्थिक लाभ प्रदान गरिएको अवस्थामा समेत यो सर्त लागू हुनेछ।
मध्यस्थकर्तामार्फत रकम वा अन्य सामग्री पठाएर गरिएको भुक्तानीमा पनि यही व्यवस्था लागू हुने उल्लेख गरिएको छ। एकपटक यस्तो भुक्तानी भएपछि सम्बन्धित जहाजको बीमा तत्काल समाप्त हुने भए पनि जहाज मालिकका अन्य जहाजको बीमा भने स्वतः रद्द हुने छैन।
संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी महासन्धिअनुसार वैध समुद्री तथा नेभिगेसन सेवाको बदलामा तिरिने स्वीकृत शुल्क भने यस व्यवस्थाबाट बाहिर रहनेछन्।
एसोसिएसनले यो व्यवस्था अनिवार्य नभई वैकल्पिक भएको स्पष्ट पारेको छ। त्यसैले अन्डरराइटर, बीमा दलाल तथा बीमितले आवश्यकताअनुसार यसलाई स्वीकार, अस्वीकार वा परिमार्जन गर्न सक्नेछन्।
एसोसिएसनकी कानुनी तथा नियामक निर्देशक अरेबेला रामागेले नयाँ सर्तले जटिल कानुनी वातावरणमा बीमक र बीमित दुवै पक्षलाई स्पष्टता प्रदान गर्ने बताएकी छन्।
व्यापार बीमा क्षेत्रका प्रतिवेदनअनुसार इरानी अधिकारीहरूले विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुजमा औपचारिक ट्रान्जिट शुल्क लागू गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका बेला यो व्यवस्था ल्याइएको हो।
मध्यपूर्वमा बढ्दो तनावका कारण युद्ध जोखिमसम्बन्धी बीमा प्रिमियम बढिरहेका र समुद्री बीमा व्यवस्थापन थप जटिल बन्दै गएका बेला लोयड मार्केट एसोसिएसनको यो कदमलाई प्रतिबन्धसम्बन्धी जोखिम व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ।













प्रतिक्रिया दिनुहोस्