क्यान महासंघ र महर्षि कलेजबीच पाँचवर्षे सहकार्य, सातै प्रदेशमा एआई र डिजिटल सीप विस्तार गरिने

काठमाडौं, १२ साउन । नेपालको डिजिटल रूपान्तरणलाई गति दिने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षे रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधिमैत्री सीप सातै प्रदेशका युवामाझ विस्तार गरिनेछ। क्यान महासंघका अनुसार कार्यक्रममार्फत कक्षा कोठाको अध्ययन र प्रविधि उद्योगबीचको दूरी घटाउँदै युवालाई डिजिटल प्रविधिको प्रयोगकर्ताबाट नवप्रवर्तनकर्ताका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

पाँच वर्षे योजनाअन्तर्गत आधारभूतदेखि उन्नत तहसम्मका कोडिङ तालिम, एआई समाधान विकाससम्बन्धी प्रतिस्पर्धा, नवप्रवर्तन कार्यक्रम तथा प्रविधिमा आधारित उद्यमशीलता प्रवर्द्धनका गतिविधि सञ्चालन गरिनेछ। उत्कृष्ट प्रविधि अवधारणालाई व्यावसायिक उद्यममा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन र स्रोतसमेत उपलब्ध गराइने जनाइएको छ।

समझदारीले शिक्षकहरूको क्षमता अभिवृद्धिमा पनि जोड दिएको छ। आधुनिक प्रविधिमा आधारित पाठ्यक्रम र शिक्षण पद्धतिमा दक्ष बनाउँदै नयाँ पुस्ताका डिजिटल जनशक्ति तयार पार्न सहयोग गर्ने लक्ष्य राखिएको क्यान महासंघले जनाएको छ।

कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले एआईको प्रयोग मात्र नभई यसको विकास र नेतृत्वमा नेपाली युवालाई सक्षम बनाउने उद्देश्यले सहकार्य अघि बढाइएको बताए।

महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक अध्ययनलाई उद्योगसँग जोड्दै विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रत्यक्ष अवसर सिर्जना गर्ने दिशामा यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

हस्ताक्षर कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेतसहित शिक्षा र सूचना प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्