स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकको अधिकार प्रभावित भएको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, १२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा अवरुद्ध हुँदा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

नारायणी अस्पताल, वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा गरिएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेपछि आयोगले यसबारे स्थलगत अनुगमन गरेको जनाएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य सेवामा निरन्तर खटिने चिकित्सकमाथि कुटपिट र अस्पतालमा तोडफोड हुनु निन्दनीय भएको उल्लेख गरिएको छ।

आयोगले यस्ता घटनाले अराजकतालाई प्रश्रय दिनुका साथै कानुनको शासनमाथि चुनौती खडा गर्ने जनाएको छ। साथै, घटनाको विरोधस्वरूप अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा बन्द गरिँदा बिरामी उपचार सेवाबाट वञ्चित भएको आयोगको निष्कर्ष छ।

आयोगले चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै स्वास्थ्य संस्थामा हुने हिंसात्मक गतिविधि रोक्न प्रभावकारी कदम चाल्न र नागरिकको स्वास्थ्य सेवामा अवरोध नआउने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्