प्रेस स्वतन्त्रताका माग राख्दै पत्रकार महासंघले बुझायो सातबुँदे ज्ञापनपत्र
काठमाडौं, १२ साउन । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रका विभिन्न माग राख्दै सातबुँदे ज्ञापनपत्र बुझाएका छन्।
महासंघले सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएको हो। ज्ञापनपत्रमार्फत सञ्चार क्षेत्रसँग सम्बन्धित नीति, कानुन र अभ्यास सुधार गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।
महासंघले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनमा लगाइएको प्रतिबन्ध सर्वोच्च अदालतको आदेशबाट खारेज भएको निर्णयको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयन अझै हुन नसकेको जनाएको छ। अदालतको आदेशअनुसार निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन वितरण गर्ने व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।
ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पार्ने नीति, निर्णय र अभ्यासको पुनरावलोकन गरी संविधानको मर्मअनुसार सुधार गर्न आग्रह गरिएको छ। साथै सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, नियम, नीति तथा संस्थागत संरचनाको शीघ्र निर्माण, संशोधन र कार्यान्वयन गर्न माग गरिएको छ।
महासंघले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, पत्रकारहरूको श्रम अधिकार, सामाजिक सुरक्षा तथा बीमा व्यवस्था सुनिश्चित गर्नुपर्ने विषय पनि उठाएको छ। समानुपातिक विज्ञापन नीतिको प्रभावकारी कार्यान्वयनमार्फत साना, सामुदायिक तथा स्वरोजगारमुखी सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धनका लागि विशेष नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, सञ्चारगृह तथा पत्रकारमाथि हुने धम्की, दबाब, हस्तक्षेप र आक्रमणका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि माग गरिएको छ।
महासंघले डिजिटल सञ्चार र कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका नयाँ प्रविधिबाट सिर्जित चुनौतीलाई सम्बोधन गर्न आधुनिक सञ्चार नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ। यसका लागि सरोकारवालासँग व्यापक छलफल र परामर्श गर्नुपर्ने जनाएको छ।
ज्ञापनपत्रमा महासंघले सरकारसँग टकराव नभई संविधान, लोकतन्त्र र प्रेस स्वतन्त्रताको साझा मूल्य संरक्षणका लागि सहकार्य र संवादको पक्षमा रहेको स्पष्ट पारेको छ। उठाइएका विषयमा आवश्यक पहल हुने विश्वाससमेत महासंघले व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्