सुर्खेतमा एलपी ग्यासको चरम अभाव, रातिदेखि लाइन बस्न बाध्य उपभोक्ता
काठमाडौं, ११ साउन । सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ता रातिदेखि नै खाली सिलिन्डर बोकेर ग्यास डिलरको लाइनमा बस्न बाध्य भएका छन्। ग्यास लिन स्थानीयहरू राति २ बजेदेखि लाइन लाग्ने र एक–दुई दिनसम्म कुर्नुपर्ने अवस्था रहेको छ।
स्थानीयका अनुसार विगतमा जस्तो सहज रूपमा ग्यास उपलब्ध हुन छाडेपछि दैनिक जीवन नै प्रभावित भएको छ। अधिकांश परिवार खाना पकाउने एलपी ग्यासमा निर्भर रहेकाले अभावले सर्वसाधारणलाई सास्ती दिएको छ।
वीरेन्द्रनगर–९ की भविका चौधरीले चार दिनसम्म लाइन बसेपछि मात्रै ग्यास पाएको बताइन्। ग्यास नहुँदा चाउचाउ, बिस्कुट र चिउरामा गुजारा चलाउनुपरेको भन्दै उनले ग्यास पाएपछि ठूलो राहत महसुस भएको सुनाइन्।
यस्तै, स्थानीय तीर्थबहादुर थापाले बिहानैदेखि लाइनमा बसे पनि पालो नआउँदा खाली सिलिन्डर लिएर घर फर्किनुपर्ने अवस्था रहेको बताए। रातभर सिलिन्डर सुरक्षित राख्न उपभोक्ताले शुल्कसमेत तिर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
ग्यास अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा वैकल्पिक इन्धनको पहुँच नभएका नागरिक बढी प्रभावित भएका छन्।
१० दिनमै १७ हजार सिलिन्डर वितरण
नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेका अनुसार साउन १ देखि १० गतेसम्म वीरेन्द्रनगर क्षेत्रमा १७ हजार एलपी ग्यास सिलिन्डर वितरण गरिएको छ।
उनका अनुसार यसअघि मासिक करिब २६ हजार सिलिन्डर वितरण हुने गरेकोमा अहिले १० दिनमै १७ हजार वितरण भएकाले माग अस्वाभाविक रूपमा बढेको देखिएको छ।
घिमिरेले सुर्खेतमा ग्यासको वास्तविक अभाव नभई केही अनधिकृत बिक्रेताले ग्यास सङ्कलन गरी भण्डारण गरेको हुन सक्ने आशङ्का व्यक्त गरे। उनले सम्बन्धित निकायबाट यसबारे अनुसन्धान आवश्यक रहेको बताए।
प्रशासनले भन्यो– अध्ययन भइरहेको छ
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले सबै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले प्रहरीको निगरानीमा वितरण भइरहेको बताए।
उनले ग्यास अभावको वास्तविक कारणबारे अध्ययन भइरहेको जानकारी दिँदै लक्षित वर्गलाई प्राथमिकता दिएर वितरण व्यवस्थापन गर्न प्रशासनले पहल गरिरहेको बताए।













प्रतिक्रिया दिनुहोस्