बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको माइतीघरमा प्रदर्शन
काठमाडौं, ११ साउन । सहकारी पीडित बचतकर्ताहरूले सबै बचतकर्तालाई समान व्यवहार गर्दै बचत रकम फिर्ता गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले साना र ठूला बचतकर्ताको नाममा पीडितलाई विभाजन गरेर आन्दोलन कमजोर बनाउन खोजेको आरोप लगाए। उनीहरूले सबै बचतकर्तालाई समान रूपमा व्यवहार गर्दै बचत रकम फिर्ताको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन्।
महासंघका अध्यक्ष कुशलभ केसीले आन्दोलनरत बचतकर्ताको रकम तत्काल फिर्ता गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि मागको सुनुवाइ नभएको बताए।
उनले विगतमा सरकारसँग भएका सहमतिसमेत कार्यान्वयन नभएको उल्लेख गर्दै माग सम्बोधनमा थप ढिलाइ भए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए।
केसीले सहकारी ठगीका सबै पीडित समान भएकाले साना र ठूला बचतकर्ताका आधारमा विभाजन गर्नु अन्यायपूर्ण हुने बताए। सरकारले ठूला ऋणीबाट कर्जा असुल गरी साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति लिएको भन्दै उनले सबै पीडितलाई समान रूपमा न्याय दिनुपर्नेमा जोड दिए।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म?’, ‘जग्गा मिलानका नाममा हुने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार, कि त मारिदेऊ, कि त खोला तारीदेऊ’ तथा ‘सहकारी पीडित बचतकर्ता एक होऔँ’ लगायतका नारासहित प्रदर्शन गरेका थिए।
उनीहरूले आफूहरू पीडित बनेका सहकारी संस्थाका सञ्चालकहरूको तस्वीरसहितका ब्यानर पनि प्रदर्शन गरेका थिए। महासंघले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न र सबै पीडितलाई समान रूपमा न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।













प्रतिक्रिया दिनुहोस्