बिहार विद्यार्थी आन्दोलनमा एके–४७ प्रयोगको भिडिओ भाइरल, प्रहरी जवान निलम्बित

काठमाडौं, ११ साउन । भारतको बिहारमा प्रश्नपत्र चुहावटको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले एके–४७ राइफल प्रयोग गरेको भनिएको भिडिओ सार्वजनिक भएपछि एक प्रहरी जवान निलम्बनमा परेका छन्।

बिहारको सिवानमा भएको प्रदर्शनका क्रममा एके–४७ राइफलबाट गोली चलाइएको जस्तो देखिने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी प्रशासनले कारबाही अघि बढाएको हो।

सिवानका प्रहरी उपरीक्षक (एसपी) पुरन कुमार झाले जिल्ला गुप्तचर इकाईमा कार्यरत ती प्रहरी जवानलाई तत्काल लागू हुने गरी निलम्बन गरिएको जानकारी दिएका छन्। साथै, उनीविरुद्ध विभागीय कारबाहीसमेत सुरु गरिएको उनले बताएका छन्।

‘विद्यार्थी प्रदर्शनका क्रममा एके–४७ राइफल प्रयोग गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जवानलाई निलम्बन गरिएको हो,’ झाले भारतीय समाचार संस्था पिटिआईसँग भनेका छन्।

गत साताको अन्त्यमा बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक बनेपछि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा झडप भएको थियो। त्यसपछि प्रहरीले गरेको बल प्रयोगको भिडिओहरू सार्वजनिक भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सिवानमा प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो। प्रहरीको गोली लागेको भनिएका घटनामा कम्तीमा तीन विद्यार्थी घाइते भएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

यद्यपि, घाइतेहरूलाई लागेको गोली प्रहरीबाट चलेको हो वा प्रदर्शनकारीतर्फबाट आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिवानका प्रहरी प्रमुखले प्रदर्शनकारीसँग मिसिएका केही असामाजिक तत्वले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको दाबी गरेका छन्। दुवैतर्फबाट गोली चलेको भनिएकाले घाइतेहरूलाई लागेको गोलीको स्रोत यकिन गर्न बाँकी रहेको उनको भनाइ छ।

यसैबीच, विद्यार्थी संगठनहरूले आह्वान गरेको राज्यव्यापी बन्दका क्रममा राजधानी पटनामा समेत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो।

प्रहरी दमनका भिडिओहरू सार्वजनिक भएपछि विपक्षी दलका नेताहरूले सरकारको आलोचना गरेका छन्। भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले सामाजिक सञ्जालमार्फत विद्यार्थीमाथि दमन भएको आरोप लगाउँदै घटनाको छानबिनको माग गरेका छन्।

यस्तै, आम आदमी पार्टीले पनि भिडिओ सार्वजनिक गर्दै सरकारमाथि लोकतान्त्रिक अधिकार दबाएको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्