नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, नेपालको आधुनिक पूर्वाधारमा नयाँ युगको सुरुआत
काठमाडौं, ११ साउन । नेपालको पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटनसँगै मुलुकको सडक यातायात क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ।
सोमबार आयोजित उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्रालय, नेपालस्थित जापानी दूतावास तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का उच्च अधिकारीहरूले उक्त परियोजनालाई नेपालको आधुनिक पूर्वाधार विकासको ऐतिहासिक उपलब्धि र नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कडीका रूपमा व्याख्या गरेका छन्।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ चरण सुरु भएको बताए। उनले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्य भए नेपालले ठूला तथा जटिल पूर्वाधार आयोजना सफलतापूर्वक निर्माण गर्न सक्ने बताए।
‘यो पहिलो सुरुङ हो, तर अन्तिम होइन,’ सचिव सिग्देलले भने। उनले आगामी दिनमा नेपालमा सुरुङ पूर्वाधारका थप आयोजना विस्तार हुने विश्वास व्यक्त गरे।
उनका अनुसार निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड महामारी तथा हिमाली भू–संरचनाका चुनौती सामना गर्दै संयुक्त रूपमा काम गरेका थिए।
सुरुङमार्ग सञ्चालनमा आएसँगै सिस्नेखोला–बलम्बु यात्रा केही मिनेटमै पूरा हुने र नागढुंगा क्षेत्रमा लामो समयदेखि देखिँदै आएको जाम, तीव्र घुम्ती तथा पहिरोको जोखिमबाट यात्रुले राहत पाउने सचिव सिग्देलले बताए।
कार्यक्रममा नेपालका लागि जापानी राजदूत माएदा तोरूले नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको पूर्वाधार विकास इतिहासको महत्वपूर्ण उपलब्धि र नेपाल–जापान मैत्री सम्बन्धको बलियो आधारका रूपमा चित्रण गरे।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु विशेष महत्वको विषय भएको उनले बताए। हिमाली क्षेत्रको जटिल भूगर्भ र सक्रिय भौगर्भिक अवस्थाका कारण निर्माणमा चुनौती आए पनि जापानी विज्ञ, नेपाली प्राविधिक तथा कामदारको संयुक्त प्रयासबाट आयोजना सफल भएको उनको भनाइ थियो।
राजदूत तोरूले जापानमा विकसित करिब १५ हजारभन्दा बढी सुरुङ निर्माणसम्बन्धी प्राविधिक ज्ञान यस आयोजनामा प्रयोग गरिएको बताए। यसबाट नेपाली इन्जिनियरहरूले सुरुङ निर्माण प्रविधि र सुरक्षा मापदण्डबारे महत्वपूर्ण अनुभव हासिल गरेको उनले उल्लेख गरे।
जाइका अध्यक्ष डा. तानाका अकिहिकोले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपाल र जापानबीचको सहकार्यको महत्वपूर्ण उपलब्धि भएको बताए।
उनका अनुसार सुरुङ सञ्चालनमा आएसँगै नागढुंगा खण्ड पार गर्न लाग्ने समय घटेर करिब ५ देखि ७ मिनेटमा सीमित भएको छ। यसले सवारी चाप घटाउने, सडक सुरक्षा सुधार गर्ने तथा यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
जाइका अध्यक्ष तानाकाले आयोजनामा ९८ प्रतिशत जनशक्ति नेपाली इन्जिनियर र कामदार रहेको जानकारी दिँदै यसले नेपालको प्राविधिक क्षमता विकासमा समेत योगदान पुर्याएको बताए।













प्रतिक्रिया दिनुहोस्