काठमाडौंमा बंगलादेशी आँप महोत्सव, ‘म्यांगो डिप्लोमेसी’ मार्फत सम्बन्ध विस्तारको प्रयास

काठमाडौं, ११ साउन । नेपालस्थित बंगलादेशी दूतावासले काठमाडौंमा बंगलादेशी आँप प्रदर्शनी तथा महोत्सव ‘बंगलादेश म्यांगो डेलिकेसी’ आयोजना गरेको छ। आइतबार उत्सवकुञ्ज ब्यांक्वेटमा आयोजित कार्यक्रममा बंगलादेशका विभिन्न प्रजातिका आँप तथा प्रशोधित खाद्य उत्पादनको प्रदर्शनी गरिएको थियो।

महोत्सवमा सार्क सचिवालयका महासचिव मोहम्मद गोलाम सरवार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारीलगायत विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, व्यापारी तथा प्रमुख आयातकर्तासहित करिब २५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले कृषि तथा कृषि–प्रशोधन क्षेत्रमा बंगलादेशले हासिल गरेका उपलब्धिबारे जानकारी गराएका थिए। उनले आँप बंगलादेशको संस्कृति, सम्पदा, परम्परा र कृषिसँग जोडिएको महत्वपूर्ण उत्पादन भएको बताए।

राजदूत रहमानले बंगलादेशको उर्वर भूमि र अनुकूल हावापानीका कारण विश्वस्तरीय आँप उत्पादन हुँदै आएको दाबी गरे। उनले खिरसापत (हिमसागर), हरिभाङ्गा, लङ्ग्रा, फजली, गोपालभोग, आम्रपाली, आश्विना, बनाना म्यांगो, कटिमोन, गौरामती र बरीजस्ता प्रजातिका आँप मिठास, सुगन्ध र पौष्टिक गुणका कारण लोकप्रिय रहेको बताए।

उनले बंगलादेशी वैज्ञानिकहरूले ढिलो फल्ने तथा विदेशी मूलका आँपका प्रजातिको विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै जुस, पल्प, जाम, अचार, म्यांगो बार र क्यान्डीजस्ता प्रशोधित उत्पादनमा समेत व्यावसायिक प्रगति भइरहेको जानकारी दिए।

कार्यक्रममा सार्क महासचिव मोहम्मद गोलाम सरवारले दक्षिण एसियाली आँपको विशिष्टता र सम्भावना ठूलो भए पनि अन्तर्राष्ट्रिय बजारमा यसको निर्यात अपेक्षाकृत न्यून रहेको बताए। उनले यस्ता कार्यक्रमले सार्क सदस्य राष्ट्रबीच कृषि क्षेत्रमा सहकार्य र सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

परराष्ट्र मन्त्रालयका सहसचिव गहेन्द्र राजभण्डारीले बंगलादेशको ‘म्यांगो डिप्लोमेसी’ (आँप कूटनीति) को प्रशंसा गर्दै यस्ता सांस्कृतिक तथा आर्थिक आदानप्रदानका कार्यक्रमले नेपाल–बंगलादेश सम्बन्धलाई थप मजबुत बनाउने बताए।

कार्यक्रममा बंगलादेशका आँप किसान रफिकुल इस्लामले असल कृषि अभ्यासअनुसार आँप खेती गर्ने विधि र आफ्नो १५ वर्षे अनुभव प्रस्तुत गरेका थिए। उनले बंगलादेशको कृषि विस्तार विभागको निगरानीमा गुणस्तरीय आँप उत्पादन भइरहेको जानकारी दिए।

प्रदर्शनीमा राजशाही क्षेत्रका फजली, आम्रपाली, बरी–४, कटिमोन, गौरामतीलगायत ताजा आँपका साथै जुस, अचार, जाम, जेली र ड्राइ म्यांगोजस्ता प्रशोधित उत्पादन राखिएका थिए।

महोत्सवमा आँपको केक, स्टिकी राइस म्यांगो, म्यांगो पुडिङलगायत विशेष परिकार तथा परम्परागत बंगलादेशी खाना पनि प्रस्तुत गरिएको थियो। साथै बंगलादेशको आँप खेती, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने ‘ब्युटिफुल बंगलादेश’ नामक वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

बंगलादेशी दूतावासले यस प्रकारका कार्यक्रमले नेपाल र बंगलादेशबीच कृषि, व्यापार, लगानी तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्