बुद्ध एयरले थप्यो नयाँ एटीआर–७२–६००, अर्को महिनादेखि नियमित उडानमा
काठमााडौं, १० साउन । बुद्ध एयरले आफ्नो बेडामा नयाँ एटीआर–७२–६०० विमान थपेको छ। फ्रान्सको तुलुसबाट ल्याइएको ‘९एन–एओएस’ कल साइन भएको विमानले आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि नियमित व्यावसायिक उडान सुरु गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ विमानमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीसहितको अत्याधुनिक एभियोनिक्स जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो विमान वातावरणमैत्रीसमेत मानिन्छ।
विमानमा ‘आरएनपी–एआर एप्रोच’ प्रणाली जडान गरिएको छ। यस प्रणालीमार्फत काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटीमा पनि सुरक्षित अवतरण गर्न सकिने बुद्ध एयरको दाबी छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी–एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको जनाएको छ। उक्त प्रणाली लागू भएपछि करिब २ हजार मिटर भिजिबिलिटीमा पनि बुद्ध एयरको यो विमानले पोखरामा सुरक्षित उडान तथा अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार नयाँ प्रविधिको प्रयोगले कम भिजिबिलिटीका कारण हुने उडान ढिलाइ र अवरोध घट्ने, उडान सुरक्षा थप मजबुत हुने तथा हवाई सेवाको गुणस्तर र विश्वसनीयता बढ्ने विश्वास गरिएको छ। हाल इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) प्रक्रियाअनुसार पोखराका लागि ३,१०० मिटर तथा काठमाडौं र भैरहवाका लागि १,६०० मिटर भिजिबिलिटी आवश्यक पर्ने व्यवस्था रहेको छ।
बुद्ध एयरले आगामी अगस्टको अन्त्यसम्म अर्को एटीआर–७२–६०० विमान पनि ल्याउने तयारी गरेको जनाएको छ। त्यसपछि केही महिनाभित्र यही सिरिजका थप दुई विमान बेडामा थप्ने योजना रहेको कम्पनीले जनाएको छ।
हाल बुद्ध एयरसँग एउटा एटीआर–४२–३२०, १५ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० विमान सञ्चालनमा छन्। नयाँ विमान थपिएसँगै कम्पनीसँग एटीआर–७२–६०० विमानको संख्या दुई पुगेको छ।













प्रतिक्रिया दिनुहोस्