राधिकाको जीवन बचाउन केएमसीले गरेको एउटा मानवीय पहल, डा. शर्माले पाए भगवानको संज्ञा
काठमाडौं, ६ साउन । सिन्धुपाल्चोकको सेराङका सुरेश सिलवालका लागि पछिल्ला केहि महिना निकै पीडादायी बन्दै गइरहेको थियो । श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो हेर्दाहेर्दै ठूलो ट्युमरमा परिणत भयो । ६ महिनाको अवधिमा ट्युमर यसरी बढ्दै गयो कि टाउकोभन्दा पनि ठूलो भयो । तत्काल उपचार आवश्यक थियो, तर कमजोर आर्थिक अवस्थाका कारण सुरेशका लागि अस्पताल पुगेर उपचार सुरु गराउने बाटो सहज थिएन ।
तर सुरेशले हार मानेनन् । विभिन्न माध्यमबाट सहयोग जुटाउँदै पत्नीको पटक–पटक एमआरआई गराए । रोगको अवस्था थाहा भयो, तर उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा पीडा झन् बढ्दै गयो, अस्पताल भर्ना गराउन सकेका थिएनन् । त्यही क्रममा जेन–जी आन्दोलनकी साहसी उद्धारकर्ता किशोरी कार्कीले सुरेशले सामाजिक सञ्जालमा सहयोग मागेको थाहा पाइन् र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्मासँग सम्पर्क गरिन् ।
किनकि जेन–जी आन्दोलनका क्रममा शर्माले मानवीय पक्षलाई पहिलो प्राथमिकतामा राख्दै सयौँ जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र कुरुवाको लागि खानेबस्ने समेत व्यवस्था मिलाइदिएको विषयमा उनी जानकार थिइन् ।
कार्कीले पठाएको राधिकाको भिडियो हेरेपछि सुनील शर्माले ढिला नगरी उपचारको जिम्मेवारी लिने निर्णय गरे । कुनै लामो प्रक्रिया र पर्खाइबिना उनले राधिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइदिए पश्चात उनको जीवनमा निकै आसाको दियो पलायो ।
त्यसको केही समय नबित्दै काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स साइरन बजाउँदै राधिकालाई लिन उनीहरूकै पायक पर्ने स्थानमा पुग्यो । सुरेश, राधिका र उनीहरूको भर्खर टुकुटुकु हिँड्न सिक्दै गरेको सानो सन्तान उपचारको आशा बोकेर केएमसी प्रवेश गरे र खबर पुगेको केही घण्टामै राधिका काठमाडौं मेडिकल कलेज दुवाकोट युनिटको आकस्मिक कक्षमा पुगिन् । अस्पताल पुग्नुअघि नै उनको उपचारका लागि चिकित्सक टोली तयार भइसकेको थियो ।
आफ्नी पत्नीको उपचार हुने सुनिश्चित भएपछि सुरेशको मन केही हल्का भयो । अस्पतालको बेडमा राधिकालाई सुताउँदै उनले भावुक हुँदै भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ ।’ राधिकालाई अस्पतालसम्म पु¥याउने पहल गरेकी किशोरी कार्कीप्रति सुरेशको परिवार आभारी छ । उपचार सुरु भएपछि सुरेशले सुनील शर्माप्रति खुलेर धन्यवाद व्यक्त गर्दै भगवानको संज्ञा दिए । आफ्नो आग्रह स्वीकार गर्दै राधिकाको उपचार निःशुल्क गराउने व्यवस्था मिलाएकोमा किशोरी कार्कीले पनि हृदयदेखि आभार व्यक्त गरिन् ।
अब सबैको एउटै प्रार्थना छ— राधिका पूर्ण रूपमा स्वस्थ भएर सन्तानलाई आफ्नो काखमा खेलाउँदै, हाँस्दै खेल्दै घर फर्किएको हेर्ने । यसका लागि सबैभन्दा ठूलो धन्यवादका पात्र बन्नेछन् काठमाडौं मेडिकल कलेजको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, जेन–जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्की र सबैभन्दा माथि, सधैं मानवीयताको पक्षमा उभिँदै सहयोगको हात बढाउने अस्पतालका सञ्चालक डा.सुनील शर्मा ।













प्रतिक्रिया दिनुहोस्