हस्तकला विकास बोर्ड गठन गर्ने सरकारको तयारी, निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्ने
काठमाडौ, ६ साउन । सरकारले हस्तकला क्षेत्रका समस्या समाधान तथा नीतिगत सुधारका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र साह र नेपाल हस्तकला महासंघका पदाधिकारीबीच बुधबार भएको छलफलमा सरकार र निजी क्षेत्रको समन्वयमा बोर्ड गठन गर्ने अवधारणामा सहमति भएको हो।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष रवीन्द्र शाक्यले हस्तकला क्षेत्रका चुनौती, अवसर र समस्याको समग्र मूल्याङ्कन गरी समाधानका लागि नीतिगत पहल गर्न बोर्ड गठन आवश्यक रहेको बताए। उनका अनुसार प्रधानमन्त्रीले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राख्दै नीतिगत सुधार र संस्थागत संरचना निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा हस्तकला वस्तुको निर्यात प्रवर्द्धन, नगद अनुदान (क्यास इन्सेन्टिभ), भ्याटसम्बन्धी समस्या, हस्तकलाकर्मी तथा कलाकारको परिचय व्यवस्थापन, निष्क्रिय रहेको सार्क हस्तकला विकास केन्द्र पुनः सञ्चालन तथा हस्तकला क्षेत्रका लागि छुट्टै नीतिगत व्यवस्था आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो।
महासंघले विगत १५ वर्षदेखि मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिन गरेको प्रस्तावमा प्रधानमन्त्रीले सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष शाक्यले जानकारी दिए।
प्रधानमन्त्री साहले सातै प्रदेशमा हस्तकला ग्राम स्थापना गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाउने, उपत्यकामा हस्तकला ग्राम विकास गर्ने तथा हस्तकला सम्बन्धी सीपमूलक प्रशिक्षण केन्द्र स्थापना गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। सार्वजनिक तथा सरकारी संरचनामा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि सरकार सकारात्मक रहेको उनको भनाइ छ।
छलफलमा हस्तकला सामग्री निर्यात गर्दा बिजक मूल्याङ्कनलाई अनिवार्य बनाउने, निर्यातकर्ताले पाउँदै आएको ५ प्रतिशत नगद प्रोत्साहन (क्यास इन्सेन्टिभ) लाई निरन्तरता दिने तथा भ्याटसम्बन्धी समस्या समाधानका लागि आवश्यक कार्यविधि निर्माण गर्ने विषयमा समेत सहमति भएको महासंघले जनाएको छ। उक्त प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको महासंघको भनाइ छ।
अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको छलफललाई निकै सकारात्मक र परिणाममुखी भएको उल्लेख गर्दै हस्तकला क्षेत्रलाई उत्पादन, रोजगारी र निर्यातसँग जोडेर अगाडि बढाउने विषयमा सरकार गम्भीर देखिएको बताए।
महासंघका अनुसार नेपालबाट वार्षिक करिब २७ देखि २८ अर्ब रुपैयाँ बराबरका हस्तकला सामग्री निर्यात हुने गरेको छ। हाल ८२ प्रकारका नेपाली हस्तकला उत्पादन ६० देशमा निर्यात भइरहेका छन्। महासंघले अनलाइन बजार विस्तार, युवा सहभागिता र सहज नीतिगत वातावरण निर्माण गर्न सके हस्तकला क्षेत्रले निर्यात, राजस्व वृद्धि र रोजगारी सिर्जनामा अझ ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्रीसँगको छलफलमा महासंघका अध्यक्ष रवीन्द्र शाक्यसहित वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए।













प्रतिक्रिया दिनुहोस्