दिल्ली विद्यार्थी आन्दोलनको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाडौ, ६ साउन । दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (आइसा) को आह्वानमा भएको प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू समेत सहभागी भएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरूको मार्च पटनास्थित गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएको थियो। प्रदर्शनकारीहरू राजभवनतर्फ अघि बढ्ने क्रममा प्रहरीले जेपी गोलम्बर नजिकै उनीहरूलाई रोकेको थियो।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा (वाटर क्यानन) र अश्रुग्यास प्रयोग गरेको थियो। बीबीसीका अनुसार प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दुईवटा अश्रुग्यासका गोला प्रहार गरेको जनाएको छ। प्रहरीले प्रदर्शनकारीको तर्फबाट पनि ढुंगामुढा भएको आरोप लगाएको छ।

प्रहरी अवरोधका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा नरोकिई डाक बंगला चौराहासम्म पुगेका थिए। प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘गोदी मिडिया गो ब्याक’ लगायतका नारा लगाएका थिए।

प्रदर्शनका क्रममा केही सञ्चारकर्मी घाइते भएको खबर सार्वजनिक भएको छ। पछि केही व्यक्तिहरूको पहलमा उनीहरूलाई भीडबाट सुरक्षित स्थानतर्फ निकालिएको थियो।

दिल्लीमा जारी विद्यार्थी आन्दोलनप्रति समर्थन जनाउँदै पटनामा भएको यो प्रदर्शनले विद्यार्थी संगठनहरूको असन्तुष्टि थप उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्