दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
काठमाडौ, ६ साउन । दाइजो प्रथा अन्त्यका लागि राष्ट्रिय जनचेतना अभियान सञ्चालन गर्ने विषयमा उपसभामुख रुबी कुमारी ठाकुर र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीबीच छलफल भएको छ।
बुधबार मन्त्रालयमा भएको भेटवार्तामा दाइजो प्रथाविरुद्धको अभियान मधेश प्रदेशबाट सुरु गरी चरणबद्ध रूपमा देशभर विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय, समुदाय, धार्मिक तथा सामाजिक अगुवा, युवा, महिला समूह र नागरिक समाजको सहभागितामा देशव्यापी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ।
भेटमा उपसभामुख ठाकुरले मधेश प्रदेशबाट सुरु हुने अभियानले दाइजो प्रथाविरुद्ध राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। उनले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहकार्य आवश्यक रहेको बताइन्।
मन्त्री बादीले दाइजो प्रथा कानुनी मात्र नभई सामाजिक चुनौतीसमेत भएकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, शैक्षिक संस्था, नागरिक समाज, सञ्चारमाध्यम र समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको बताइन्।
उनले कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजमा व्यवहारगत परिवर्तन ल्याउने अभियानलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।













प्रतिक्रिया दिनुहोस्