बाजुरामा पहिरोको जोखिम बढ्यो, ६ घर उच्च जोखिममा, १० घरधुरी प्रभावित
काठमाडौ, ६ साउन । अविरल वर्षापछि आएको पहिरोका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्ध गाउँका ६ घर उच्च जोखिममा परेका छन् भने थप १० घरधुरी प्रभावित भएका छन्।
सोमबार रातिदेखिको लगातार वर्षापछि कोर्ध क्षेत्रमा पहिरो खस्दा जमिन भासिएको सूचना प्राप्त भएपछि मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली र बडीमालिका नगरपालिकाको संयुक्त टोली घटनास्थल पुगेको थियो।
स्थलगत निरीक्षणका क्रममा पहिरोका कारण ६ घरधुरी पूर्ण रूपमा जोखिममा परेको र थप १० घरधुरी सामान्य जोखिममा रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार पूर्ण जोखिममा रहेका घरधनीमा प्रसादे साउद, गोरे साउद, अम्मर साउद, भक्त साउद, लाल साउद र खडक साउद रहेका छन्। यस्तै बल साउद, मन साउद, शिव बडुवाल, जय साउद, नर साउद, भाने साउद, गोरख साउद, खन्टे ल्वार र पवन विकका घरधुरी पनि पहिरोको जोखिममा परेका छन्।
हालसम्म घटनाबाट कुनै मानवीय वा चौपाया पशुको क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि, निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको भन्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक राहतको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रहरीले घटनास्थलमा आवश्यक सर्जमिन मुचुल्का तयार गरी राहत तथा अन्य आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ।
पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन् भने जोखिममा रहेका घरभित्रका सामग्री सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण बाजुराका अन्य बस्तीहरू पनि पहिरोको उच्च जोखिममा रहेको बताइएको छ।













प्रतिक्रिया दिनुहोस्