नेपालमा रोयल इन्फिल्ड एसेम्बलीपछि टिजि अटो ग्रुपको ९ महिनामै ४ अर्बको कारोबार
काठमाडौ, ६ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एसेम्बली उत्पादन सुरु गरेपछि टिजि अटो ग्रुप प्रालिको व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै करिब ४ अर्ब रुपैयाँको कारोबार गरेको छ।
त्रिवेणी समूहअन्तर्गत रहेको टिजि अटो ग्रुपले चैत मसान्तसम्म ४ अर्ब १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले २०८० जेठदेखि नेपालमै रोयल इन्फिल्ड मोटरसाइकलको एसेम्बली सुरु गरेको हो।
कम्पनीको व्यापार एसेम्बली उत्पादन सुरु गरेपछि निरन्तर विस्तार हुँदै गएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ थियो भने आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो।
चालु आर्थिक वर्षको नौ महिनामै अघिल्लो वर्षको कुल कारोबारलाई उछिनेको कम्पनीले सञ्चालन नाफामा समेत सुधार गरेको छ। कम्पनीको ब्याज, मूल्यह्रास तथा करअघिको सञ्चालन नाफा अनुपात (इबिटिडिए मार्जिन) ८.४८ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो अनुपात ६.५७ प्रतिशत थियो।
कम्पनीका अनुसार बिक्री भएका वस्तुको लागत घटेका कारण सञ्चालन नाफामा सुधार आएको हो। नाफासँगै कम्पनीको नगद अवस्था पनि बलियो बनेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनाको अन्त्यसम्म कम्पनीको नगद सञ्चिति २६ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो रकम १९ करोड ७० लाख रुपैयाँ थियो।
कम्पनीले ऋण भारसमेत घटाएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनाको अन्त्यसम्म कम्पनीको ऋण–पुँजी अनुपात ०.१२ गुणामा झरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यो अनुपात १.६३ गुणा थियो।
त्यस्तै, कम्पनीको ब्याज भुक्तानी क्षमता पनि सुधारिएको छ। ब्याज भुक्तानी वहन क्षमता अनुपात २५.७३ गुणा पुगेको छ। अघिल्लो वर्ष यो अनुपात १९.९९ गुणा थियो।
नेपालमै एसेम्बली उत्पादनले लागत घटाउन सहयोग पुगेको कम्पनीको भनाइ छ। कम्पनीले भारतबाट पूर्ण रूपमा छुट्टाछुट्टै भाग (सीकेडी) का रूपमा आयात गरिएका रोयल इन्फिल्डका पुर्जा नेपालमै जडान गरी मोटरसाइकल उत्पादन गर्दै आएको छ।
कम्पनीको वीरगञ्ज नजिक भारत–नेपाल सीमासँगै रहेको जडान कारखानाबाट मोटरसाइकल उत्पादन हुँदै आएको छ। स्वदेशमा जडान उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार सीकेडी रूपमा आयात हुने पुर्जामा अन्तःशुल्क र भन्सार महसुलमा छुट उपलब्ध भएकाले कम्पनीले लागतमा प्रतिस्पर्धात्मक लाभ पाएको जनाएको छ।
रोयल इन्फिल्ड मध्यम क्षमताका प्रिमियम मोटरसाइकल बजारमा स्थापित ब्रान्ड हो। नेपालमा पनि ३५० सीसी वा सोभन्दा माथिका मोटरसाइकलको माग बढ्दै गएकाले कम्पनीले आगामी दिनमा बजार विस्तारको सम्भावना देखेको छ।
यसैबीच, केयर रेटिङ्स नेपालले टिजि अटो ग्रुपको अल्पकालीन बैंक सुविधाको साख मूल्यांकन सुधार गर्दै ‘ए थ्री प्लस’ प्रदान गरेको छ। यसअघि कम्पनीलाई ‘ए थ्री’ मूल्यांकन दिइएको थियो।
कम्पनीको बैंक सुविधा ७० करोड रुपैयाँबाट बढेर १ अर्ब रुपैयाँ पुगेको छ। टिजि अटो ग्रुप सन् २०२२ मे २४ मा स्थापना भएको निजी कम्पनी हो। कम्पनी नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एकमात्र उत्पादक तथा आपूर्तिकर्ता रहेको छ।
बारामा करिब एक लाख वर्गफिट क्षेत्रफलमा रहेको कम्पनीको जडान उद्योगको वार्षिक उत्पादन क्षमता २० हजार मोटरसाइकल रहेको छ। कम्पनीले सन् २०२३ मे महिनाको मध्यदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।













प्रतिक्रिया दिनुहोस्