महाकालीमा जलस्तर बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवतजावत बन्द

काठमाडौं, ५ साउन । महाकाली नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ।

महाकाली नदीको बहाव सतर्कता तह पार गरी आज बिहान एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारी सञ्चालन बन्द गरिएको हो।

आज दिउँसो १:३० बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव १ लाख २४ हजार ४५४ क्युसेक पुगेको छ, जुन बिहानको तुलनामा अझ बढी रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक रावतले महाकाली नदीमा जलस्तर निरन्तर बढिरहेकाले सुरक्षाका दृष्टिले शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए। उनले बिहानको तुलनामा दिउँसोको मापनमा जलस्तर थप बढेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्