वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी अब अनलाइनबाट दर्ता गर्न सकिने
काठमाडौं, ५ साउन । वैदेशिक रोजगार विभागले उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मंगलबार उक्त डिजिटल प्रणालीको उद्घाटन गरेका हुन्।
नयाँ प्रणालीमार्फत अब वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी तथा मुद्दा आवश्यक प्रमाणसहित अनलाइनबाटै दर्ता गर्न सकिनेछ। यसअघि यस्ता उजुरी विभागमै उपस्थित भएर मात्रै दर्ता गर्नुपर्ने व्यवस्था थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार डिजिटल प्रणालीले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेछ। उनका अनुसार अब भौतिक रूपमा विभाग पुग्न नसक्ने सेवाग्राहीले पनि अनलाइनमार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
प्रणाली उद्घाटन कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारी तत्काल रोक्न सम्भव नभए पनि त्यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपाली श्रमिकको शोषण न्यूनीकरणका लागि सुरक्षित र उच्च प्रतिफल दिने युरोपेली मुलुकसँग श्रम सम्झौता गर्ने पहल अघि बढाइएको जानकारी दिए।
मन्त्री यादवले स्वदेशमै कार्यरत श्रमिकका समस्या तथा श्रम शोषणसम्बन्धी गुनासो सम्बोधन गर्न श्रम मन्त्रालयले छिट्टै अर्को अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए।
सरकारका अनुसार यी डिजिटल प्रणाली कार्यान्वयनमा आएपछि श्रमिकहरूले सामान्य सेवाका लागि पनि श्रम कार्यालय धाउनुपर्ने बाध्यता घट्ने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्